दफा १५
प्रतिस्पर्धा गराई फोहरमैला व्यवस्थापनको जिम्मा दिने
(१) स्थानीय तहले दफा १४ बमोजिम निजी क्षेत्र वा सामुदायिक संस्थाबाट फोहरमैला व्यवस्थापन गराउँदा बोलपत्र आह्वान गरी प्रतिस्पर्धा गराई व्यवस्थापकको छनौट गरी व्यवस्थापन गर्ने जिम्मा दिनु पर्नेछ । 
(२) उपदफा (१) बमोजिम फोहरमैला व्यवस्थापकको छनौट गर्दा देहायका आधारमा गर्नु पर्नेछः–
(क) स्थानीय तहलाई बुझाउन कबुल गरेको रकम,
(ख) फोहरमैलाबाट ऊर्जा शक्ति उत्पादन गर्ने वा प्राङ्गारिक मल उत्पादन गर्ने क्षमता, प“ूजी, प्रविधि र जनशक्तिको क्षमता, 
(ग)  आर्थिक तथा प्राविधिक क्षमता,
(घ)  फोहरमैला व्यवस्थापनमा अपनाउन प्रस्ताव गरिएको प्रविधिको दिगोपना तथा वातावरणीय प्रभाव न्यूनीकरण, 
(ङ)  व्यवस्थापन करार गर्ने भए प्रस्ताव गरिएको व्यवस्थापन शुल्क,
(च)  फोहरमैलाको प्रयोग, प्रशोधन वा पुन प्रयोग गर्ने सम्बन्धमा भए स्थानीय तहलाई बुझाउन मञ्जुर गरिएको रोयल्टी ।
(३) बोलपत्र सम्बन्धी अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ । 
(४) उपदफा (१) बमोजिम फोहरमैला व्यवस्थापनको जिम्मा पाएको कम्पनी, संस्था वा निकायले  स्थानीय तहसँग गरेको सम्झौताको अधीनमा रही दफा १८ बमोजिमको शुल्क उठाउन सक्नेछ ।
(५) फोहरमैला व्यवस्थापनमा गैरसरकारी क्षेत्रको संलग्नता सम्बन्धी अन्य कुराहरु तोकिए बमोजिम हुनेछ ।